होर्मुजमा नयाँ रुटको नक्सांकन गर्न इरान–ओमान सहमत

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

इरान र ओमानबीच सामरिक महत्त्वको होर्मुज जलडमरूमध्यमा समुद्री यातायातका लागि नयाँ मार्गको नक्सांकन गर्ने विषयमा सहमति भएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा दुई देशबीच सुरक्षित समुद्री आवतजावत सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको बताए।



उनका अनुसार दुवै देशले सहमतिको मस्यौदालाई नयाँ मार्गको नक्सा र संयुक्त विज्ञप्तिसहित अन्तिम रूप दिने तयारी गरेका छन्। प्रक्रियामा भएको ढिलाइको कारण विषयको जटिलता, विभिन्न पक्षको हस्तक्षेपको प्रयास र केही अवरोधलाई उनले मुख्य कारण बताए।

तेहरान र मस्कटबीच यस विषयमा गम्भीर छलफल जारी रहेको भन्दै बाघेईले संयुक्त विज्ञप्तिको मस्यौदामा समेत विचार आदानप्रदान भइरहेको बताए। दुवै देशले राष्ट्रिय हितको रक्षा गर्दै आपसी सरोकार सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय समुद्री यातायातका नियमअनुसार प्रभावकारी संयन्त्र विकास गर्न चाहेको उनको भनाइ छ।

यसैबीच, बाघेईले गत जुन १८ मा इरान र अमेरिकाबीच भएको समझदारीपत्रबारे पनि टिप्पणी गरे। उक्त समझदारीअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा ६० दिनभित्र वार्ता सुरु हुनुपर्ने भए पनि अमेरिकाले सम्झौताको गम्भीर उल्लंघन गरेकाले वार्ता अघि बढ्न नसकेको उनले दाबी गरे।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले होर्मुज जलडमरूमध्यमा सुरक्षा निगरानी र नियन्त्रण थप कडा बनाएको छ। विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको यो जलमार्ग अन्तर्राष्ट्रिय ऊर्जा बजारका लागि समेत अत्यन्त संवेदनशील मानिन्छ।